बालकले ‘फेक आईडी’ बाट आफ्नै शिक्षिकामाथि यौन दुर्व्यवहार गरेपछि…

समाचार

Sharing is caring!

रिता नेपाली (नाम परिवर्तन)
प्रविधिको पहुँच बढेसँगै हर‍ेक उमेरका मान्छेहरु सामाजिक सञ्जाल प्रयोग गर्न थालेका छन् । हरेक कुरामा जस्तै सामाजिक सञ्जालका पनि राम्रा र नराम्रा दुवै पक्ष छन् । जहाँ हामी नयाँ प्रविधि प्रयोग गर्न, केही कुरा सिक्न र सम्पर्कमा रहन खोज्छौं, तर हामीले दैनिक हेर्ने सामग्रीहरुमा लगाम लगाउन भुलिरहेका हुन्छौं ।

विशेषगरी बालबालिकालाई सामाजिक सञ्जालका सामग्रीहरुको विषयमा राम्रो जानकारी दिन नसक्दा साइबर बुलिङका घटना हुन थालेका छन् । पछिल्लो समयमा युट्युवमा ‘प्र्याङ्क’ भिडिओ बनाउने नाममा समेत साइबर बुलिङ वा दुर्व्यवहारका घटना बढ्दै गइरहेका छन् । कति बाहिर आउछँन्, कति दबिएर बस्छन् ।

म आफैं यस्तो साइबर बुलिङको शिकार बनेकी छु । फेसबुकमा पहिचान नखुलेको आईडीबाट फ्रेन्ड रिक्वेस्ट आउनु कुनै नयाँ कुरा हाेइन । यसैक्रममा एक दिन मलाई फेसबुकमा एउटा नयाँ आईडीबाट फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल हेर्दा हालसालै बनाएको जस्ताे थियाे । कुनै पाेष्ट पनि थिएन । प्रोफाइल फोटो पनि चिन्न सकिने गरी राखिएको थिएन ।

म्युचुअल फ्रेन्डमा भने मैले नै पढाएकाे विद्यार्थी थियाे । अनि लाग्याे ऊ हाम्रै स्कुलकाे विद्यार्थी हाेला । तर पनि मैले रिक्वेस्ट एसेप्ट गरिनँ ।भोलिपल्ट थाहा भयो, त्यही नामबाट मेरो सहकर्मीलाई पनि रिक्वेस्ट आएकाे रहेछ । अर्को दिन त्यही आईडीबाट मलाई म्यासेज रिक्वेस्ट आयो “हेलो, चिन्नभयो ?” । मैले  “चिनिनँ, को हो ?” भनेर म्यासेज गरें । केही घण्टापछि “मान्छे ” भन्दै हाँसेकाे इमोजी सहितको म्यासेज आयाे । तर मैले रिप्लाई गरिनँ ।

मैले फेसबुकमा आफ्नो वास्तविक नाम नराखेर अलिक बनाएकी छु । अर्को दिन राति करिब साढे नाै बजेतिर उसले फेरि म्यासेज पठायाे, “हेलो, तिम्रो नाम रिता (नाम परिवर्तन) हाेइन ?” । कसरी उसले मलाई मेराे नाम सहित म्यासेज गर्‍यो ?

म अचम्ममा परेँ । मैले फेरि पनि “मैले चिनिनँ । तिमी को हो भन त ।” भनेर म्यासेज गरेँ । त्यसपछि अचानक उसले एकैचाेटी नराम्रा अपशब्दहरु प्रयोग गरेर म्यासेज पठायो । एकछिन त म डराएँ । के गर्ने, के नगर्ने, साेच्नै सकिनँ ।

आफूले जीवनमा कहिल्यै पनि त्यस्ता शब्दहरु प्रयाेग नगरेको र कहिल्यै अरुबाट पनि नसुनेको भएर हाेला मलाई एकदमै अप्ठ्याराे महसुस भयाे । म डराएँ । को हो, के हो, केही थाहा नभएकाले के गर्ने, मैले साेच्न पनि सकिनँ । यसरी म्यासेजमा अपशब्द बाेल्ने, अश्लील तस्वीर तथा भिडिओहरु पठाउने गरेका कुराहरु सामाजिक सञ्जालमा धेरै पढेको/सुनेको भएर मेरो ध्यान त्यतातिर पनि गयो ।

अब यो म्यासेज रिप्लाई गर्ने कि नगर्ने भन्ने कुराले पनि एकदमै दुविधामा परेँ । एकछिन त साेचेँ, स्कुलकै बच्चा हाे भने त उसले यस्ता शब्दहरु प्रयाेग नगर्नुपर्ने थियाे । आखिर साना बच्चाहरुलाई यस्ता कुराहरु कसरी आउछँ भन्ने पनि साेचेँ । फेरि म सात कक्षासम्मका विद्यार्थीहरुलाई पढाउँछु ।

त्यति साना बच्चाहरुले यस्ता शब्द कहाँबाट सिक्लान र ? तर म्याम भनेर मलाई अरु कसले पाे म्यासेज गर्ला र भन्ने जस्तो पनि लाग्यो । एकचोटी त पुलिसमा रिपाेर्ट गर्ने विषयमा पनि साेचेँ । त्यसभन्दा अगाडि मेरो मोबाइल हराएको बेला पुलिसमा रिपाेर्ट गर्दा उल्टै आफैँले दुःख भोग्नुपरेको याद आयो ।

अनि हतार हतार एकजना साथीलाई म्यासेजकाे स्क्रिनसर्ट पठाएँ । उसले याे विषयमा चिन्ता नगर्न र त्याे आईडीलाई ब्लक गर्न सल्लाह दियाे । तर मेराे मनले त्याे सल्लाह स्वीकार गर्नै सकेन । यदि साँच्चै त्याे मेरै विद्यार्थी रहेछ भनेँ त उसलाई यस्ताे गलत काम गर्नबाट रोक्ने मेरो जिम्मेवारी हो भन्ने साेचेँ । अनि फेरि उसलाई मैले चिनिसकेको जस्तै गरेर धम्क्याउने हिसाबले मैले म्यासेज गरेँ ।

“हेर तिमी को हो भनेर मैले थाहा पाइसकेँ । तिमीलाई थाहा छ, यसरी फेक आईडीबाट यस्ताे म्यासेजहरू गरेर तिमी साइबर क्राइम गर्दैछाै । म अब पुलिसमा रिपाेर्ट गरिदिन्छु ।” घरमा पुलिस पठाइदिने र यस्तो काम गरेको कुरा उसको अभिभावक र साथी सबैलाई भनिदिने भनेपछि ऊ डराएछ ।

त्यसपछि उसले आफ्नाे परिचय दियो । उसले मसँग माफी माग्दै आफ्नो घरमा पुलिस नपठाउन आग्रह गर्‍यो । जब मैले यो कुरा सबैलाई बताइदिन्छु भनेँ । डराएर हो वा मलाई धम्काउन, मैले त्यो कुरा अरुलाई भनेँ भने उसले आत्महत्या गर्छु भन्दै म्यासेज पठायाे ।

त्याे म्यासेजले म फेरि डराएँ । यो कुरा कसैलाई नभन्ने सर्तमा मैले उसलाई किन यसो गरेकाे भनेर साेधेँ । ऊ कक्षा सातमा पढ्दा अरुको गल्तिमा मैले उसलाई पिटेको रहेछु । त्यही कुराको रिस उसको मनमा रहेछ । त्यो कुरा उसले आफ्ना साथीहरुलाई सुनाउँदा उनीहरुले त्यस्तालाई त मुख छाडेर गाली गर्नुपर्छ भनेर सिकाए भन्दै उसले मलाई स्पष्टीकरण दियाे ।

यति सानो दिमागमा यस्ताे रिस ? अनि परिवारले थाहा पाउने डरमा आत्महत्या गर्छु भनेर कसरी भन्न सकेको होला ? म अचम्ममा परेँ । साथीहरुले सिकाएकै भरमा मात्र उसले याे सबै गर्‍यो होला भन्ने कुरा मेराे मनले मानेन । मैले धेरैबेर केरकार गरेपछि उसले गुदी कुरा खाेल्याे ।

उसलाई मसँग रिस उठेकाे त पक्कै पनि थियाे । यसैबीच उसले यसैगरी आफ्नाे स्कुलकाे मिसलाई फेक आईडी बनाएर म्यासेज गरेकाे युट्युवर कुशल पाेखरेलको भिडिओ हेरेको रहेछ । उसले मलाई प्रयाेग गरेका केही शब्दहरु पनि त्यही युट्युव च्यानलमा प्रयोग गरेको सुनेको रहेछ ।

त्यसैबाट सिकेर उसले म बाहेक आफ्नो कक्षाको शिक्षिकालाई पनि त्यसैगरी म्यासेज गर्ने साेच बनाएको कुरा मलाई बतायाे । उसको भविष्यको योजना नै मोटोभ्लगर बन्ने रहेछ । धेरै जसाे युट्युवमा समय बिताउने भएकाले उसले यस्ता शब्दहरु पक्कै पनि त्यही माध्यमबाट सिक्याे भन्ने लाग्यो ।

पछि स्कुलमा भेटेर ऊसँग कुरा गरेँ । अबदेखि यसाे नगर्न सल्लाह दिएँ । याे समस्या त केही समय पछि सुल्झियो । तर म साेच्न बाध्य भएँ, हाम्रो शिक्षा र बालकालिकाको सिकाई कतातिर जादैँछ ? मेरो सात वर्षे शैक्षिक यात्रामा मैले यस्ताे समस्या भाेग्नुपर्‍यो । त्याे पनि आफ्नै विद्यार्थीबाट । म जुन मानिसक तनावबाट गुज्रिएँ, त्यो त छदैँ थियो ।

तर अहिले हुर्किँदै गरेका बालबालिका कुन मानिसकता लिएर हुर्किरहेका छन् भन्ने कुराले मलाई साेच्न विवश बनायो । हरेकको हातमा माेबाइल भएपछि धेरै समय सामाजिक सञ्जालमा वित्नु अहिले सामान्य भइसक्यो । हाम्रा हुर्किँदै गरेका बालबालिकाहरुले कस्ताे सामग्री हेर्दैछन्, के सिक्दैछन् भन्ने विषयमा अभिभावकहरु चनाखो हुन आवश्यक छ ।

याे जिम्मेवारी अभिभावकको मात्र हाेइन । शैक्षिक संस्थाहरुले कम्युटर विषय पढाइरहँदा प्राविधि सँगै नैतिक शिक्षालाई पनि जाेड दिनु आवश्यक छ । यद्यपि विशेष भूमिका भनेको सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटरहरु अथवा सामाजिक सञ्जालमा फोटो, भिडिओ, पोस्ट आदि सामग्री राख्नेहरुको हुन्छ ।

आफ्ना अडियन्स (आफूले सामाजिक सञ्जालमा राखेको सामग्री हेर्ने सम्भावित प्रयोगकर्ता) को दायरालाई ध्यानमा राखेर सामग्रीहरु बनाउन जरुरी छ । याे विषयलाई सरकारले मध्यनजर गर्दै समाजलाई असर पर्नसक्ने सामग्री प्रसारणलाई नियन्त्रणमा राख्न सक्नुपर्छ ।

(सामाजिक सञ्जालमा यौन दुर्व्यवहार गर्ने बालकको पहिचान खुल्नसक्ने जोखिमका कारण लेखिका शिक्षिकाको वास्तविक परिचय गोप्य राखिएको छ । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *