बालेन शाह एक भाइरल उम्मेदवार, अनि राष्ट्रिय झण्डाको अपमान

समाचार

Sharing is caring!

राष्ट्रिय झण्डा प्रयोगको कठोर र स्पष्ट विधि भएको अवस्थामा बर्को जसरी ओढ्ने, ज्याकेट वा कोटजसरी लगाउने कुरा कल्पना गर्न सकिंदैन। तसर्थ उनले आफ्नो गल्तीमा सार्वजनिक रुपमा आत्मालोचना गर्दा इज्जत बढ्छ, घट्दैन।

काठमाडौं महानगरपालिकाको मेयर पदका एकजना स्वतन्त्र उम्मेदवारको फोटो भाइरल जस्तै भएको छ। जताततै मिडिया र सामाजिक सञ्जालमा प्रचारित छ।

धेरैलाई लाग्न सक्छ राष्ट्रिय झण्डा पिठ्युँमा ओढेका उनले राष्ट्रिय झण्डाको सम्मान गरेका छन्। तर उनको फोटोमा देखिएको राष्ट्रिय झण्डाको अवस्था अपमानजनक र झण्डा प्रयोगको कार्यविधि विपरीत छ।

देशको राजधानीमा बस्ने, त्यो पनि महानगरलाई अनुपम बनाउँछु भनेर सपना र योजना बोकेर आएको एउटा युवकलाई राष्ट्रिय झण्डाको प्रयोग, यसको सम्मान र अपमानको अवस्था के हो भन्ने कुरा ज्ञान नभएको भनेर कसरी अनुमान गरौं। तर धेरैले रुचाएको एउटा व्यक्तिले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दा त्यही कुराले झण्डा प्रयोगको (कु)संस्कार कोख रुप धारण गयो भने के होला ? यो विषय उठानको आशय यत्ति मात्रै हो।

राष्ट्रिय झण्डा तथा राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि २०६९ का अनुसार राष्ट्रिय झण्डाको अपमान गर्न–गराउन पाइँदैन। चन्द्रमा तल पर्ने गरी झण्डा उल्टो राख्न, व्यापारिक विज्ञापनमा प्रयोग गर्न, राष्ट्रिय झण्डाको प्रतीक व्याच टाँस्दा कम्मरभन्दा तल टाँस्न र चन्द्रमा तल पर्ने गरी प्रयोग गर्न पाइँदैन। मुलुकी अपराधसंहिता परिच्छेद ८ को दफा १५१ अनुसार राष्ट्रिय झण्डा र राष्ट्रिय गानको अपमान गरे तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ।

छातीभन्दा तलको भागमा लगाइने कुनै भित्री वा बाहिरी बस्त्रमा झण्डाको प्रतीक वा चित्र राख्न पाइँदैन भन्नुको तात्पर्य बर्को ओढेझैं वा ज्याकेट वा कोट लगाएझैं पिठ्युँमा झण्डा ओढ्न नपाउने कुरा बुझ्न कठिन छैन। फेरि आफ्नो देशको झण्डा, राष्ट्रिय गान र बा-आमाको सम्मान गर्ने कुरा नियम कानुनमा लेखिरहनुपर्छ भन्ने पनि होइन मन र विवेकले जान्ने कुरा हो।

लिखित संविधान नै नभएका देश त सुव्यवस्थित चलेका नागरिक सामाजिक सभ्यताको परिधिमा छन् भने राष्ट्रियताका बारेमा बोलेर नथाक्ने हामीलाई आफ्नो राष्ट्रियताको सम्मान गर्न कानुनको दफा नै किन चाहिने ?

विवेकको प्रयोग गरौं वा कार्यविधि पालना गरौं। शरीरमा प्रयोग गर्न पाइने भनेको व्याचको रुपमा प्रतीक बनाएर छातीको बायाँ भागमा र टोपीमा लगाउन पाइने कुरा सम्मानजनक हुनेभयो। छातीको बायाँ भागमा लगाउनुको अर्थ प्रेम र सम्मानपूर्वक हृदयमा राख्नु हो। बायाँ छातीमा लगाउनुको सट्टा दायाँ छातीमा लगाएको त राम्रो मानिंदैन भने ढाडमा ओढ्न कसरी सुहाउला ? कसरी झण्डाप्रतिको सम्मान झल्किएला।

राष्ट्रिय झण्डा र गान राष्ट्रिय एकताका प्रतीक हुन्। राष्ट्रिय गान गाउनु झण्डालाई सम्मान गर्नु हो। झण्डालाई सम्मान गर्नु भनेको राष्ट्रलाई सम्मान गर्नु हो। शरीरमा झण्डा ओढेर, टाउकोमा फेटा वा घाँटीमा गलबन्दी जसरी बाँधेर झण्डाको सम्मान हुँदैन बरू यसले संस्कृति (विकृति) को रुप लिंदै जाँदा राष्ट्रिय झण्डा बर्कोबाट टिसर्ट, स्कर्ट र हाफ पाइन्टको स्थानमा झर्दैन भन्ने विश्वास कसरी गर्ने।

सिको जसरी पनि गर्न सकिन्छ। एक अफ्रिकी देशका कलाकारले आफ्नै देशको राष्ट्रिय झण्डाको हाफपाइन्ट लगाएर नृत्य प्रस्तुत गरेको यस पङ्तिकारले सोही मञ्चमा बसेर प्रत्यक्ष हेरेको छ।

तोकिएको साइजको डण्डामा हालेर सम्मानपूर्वक बोक्ने देशको पहिचान हो झण्डा। कसैको शरीरमा झण्डा त्यतिबेला चढ्छ जब उसको निधनमा देशले राष्ट्रिय सम्मान दिने निर्णय गरेको होस्। त्यसरी झण्डा ओढाउँदा पनि शवमाथि कफिन राखेपछि मात्र झण्डा ओढाइन्छ। झण्डाले भुइँ नछुने गरी चन्द्रमा माथि अर्थात् टाउकोतिर र सूर्य तल अर्थात् खुट्टातिर पारेर ओढाइन्छ।

ती उम्मेदवारले आफ्नो शरीरमा उसैगरी चन्द्र पिठ्युँमा अर्थात् माथि र सूर्य बायाँ छातीमा अर्थात् तल पारेर ओढेका छन्। यसकारण स्वयं ती व्यक्तिका लागि पनि राम्रो होइन।

विभिन्न राजनीतिक दलका चुनावी कार्यक्रममा राष्ट्रिय झण्डा बोकेको देखिन थालेको छ। झण्डा केहीबेर मोटरसाइकलमा ठड्यायो, केही छिनपछि त्यसैलाई टाउको, कम्मर वा मोटरसाइकलको मिररमा बाँधेको पनि देखिन्छ। यसले प्रष्ट पार्छ हामी नेपाली युवा राष्ट्रिय झण्डाको सम्मानप्रति कति सचेत छौं।

झण्डा राख्नु र झिक्नुमा पनि निश्चित नियम हुन्छ। कुनै पनि सरकारी कार्यालय वा प्रतिष्ठानमा बिहान सम्मान सलामी सहित झण्डा फहराइन्छ र साँझ उसैगरी झारिन्छ। त्यसैगरी राज्यले तोकेका उच्च ओहोदावाल व्यक्तिका सवारी साधनमा फहराइएका झण्डा समेत ती व्यक्ति गाडीबाट उत्रेपछि कभरले ढाकिन्छ र चढ्ने बेलामा फहराइन्छ।

नैतिकता, विवेक र कानुन असभ्यताको लक्ष्मणरेखा र सभ्यताको सुरक्षा कवच हो। राष्ट्रियताको सम्मान गराउन राष्ट्रभक्त नागरिकका लागि कानुनी लाठी हुँदै होइन। सुन्दर सभ्यता भनेको स्वयम् राष्ट्रको अपमान नगर्नु नै हो र झण्डा निर्माण, बिक्री र प्रयोगबारे जे नियम वा आचारसंहिता बनेको छ त्यसलाई पालना गर्नु हो। सरकारले बनाएको नियम र आचारसंहिताले राष्ट्रिय झण्डा र गानको पूर्ण सम्मान हुने देखिएन भने सरकारलाई सुझाव गर्नु एक कदम माथिको नागरिक कर्तव्य हो।

नेपालको संविधान २०७२ को धारा ८ मा झण्डाको रङ, आकार, चन्द्रसूर्यको आकार स्पष्ट उल्लेख गरेको छ भने राष्ट्रिय झण्डा र गानको प्रयोग सम्बन्धी कार्यविधि २०६९ अनुसार सर्वसाधारणले राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ। झण्डा प्रयोग गर्न पाउनु नागरिकप्रतिको सम्मान पनि हो। झण्डा फोहोर भए, पुरानो भए, च्यातिएमा तुरुन्त फेर्ने र यसको अन्य नियम पालना गरी आफैंप्रतिको सम्मान कायम गरौं। दुरुपयोग दुर्भाग्यपूर्ण हुन्छ।

झण्डाको आकार कत्रो हुने भन्ने समेत व्यवस्था छ। कुन निकाय वा व्यक्तिले प्रयोग गर्ने हो भन्ने कुराले आकार निर्धारण गर्दछ। संवैधानिक निकाय तथा सरकारी कार्यालयहरूले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ८x६ फिट हुनुपर्छ। नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संघ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ६x४ फिट, संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैरसरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रूपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ४x३ फिट हुनुपर्छ भने संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरूले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार ३०x२० सेन्टिमिटर, राष्ट्रिय पर्व, राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरूको सवारीका बखत तोकिए बमोजिमको सडकको दायाँ–बायाँ र चोकमा फहराइने झण्डाको आकार ३x२.५ फिट हुनुपर्ने व्यवस्था छ।

सरकारी कार्यालय भवनभित्र र बाहिर तथा आवास भवनहरूमा प्रयोग गरिने राष्ट्रिय झण्डा हरेक वर्षको बडा दशैं र नव वर्षको अवसरमा अनिवार्य रूपमा नयाँ फेर्नुपर्नेछ। तर राष्ट्रिय झण्डा च्यातिएमा, बिग्रेमा, रंग उडेमा वा अन्य कारणले अशोभनीय देखिएमा कार्यविधिको अधीनमा रही जुनसुकै समयमा पनि फेर्न सकिनेछ।

सामान्यतः वर्षको एक पटक नयाँ बनाउने वा फेर्ने काम सम्बन्धित पालिकाले गर्नुपर्ने व्यवस्थाका बारेमा स्थानीय सरकारको प्रतिनिधित्व गर्न चाहने व्यक्तिलाई जानकारी हुनु जरुरी छ। यो भनेको राष्ट्रियताको वास्तविक चेतना पनि हो।

कोभिडको समयदेखि कतिपयले झण्डाको मास्क बनाएर लगाएको देखिन थालेको छ। राष्ट्रिय झण्डा मात्र होइन कुनै राजनैतिक पार्टी वा धार्मिक झण्डा नै किन नहोस् थुक वा सिगानको मुहानमा लगाउनु कति विवेकी कार्य होला ?

कतिपय कुरा कार्यविधिमा स्पष्ट छैन। झण्डा पिठ्युँमा राख्न पाइँदैन कतै भनेको छैन भनेर पनि तर्क गर्न सकिन्छ। तर कवाज प्रदर्शन वा पार्च पासमा राष्ट्रिय झण्डा बोक्दा दायाँ हात माथि र बायाँ हात तल पारेर राष्ट्रिय झण्डा सीधा हुने गरी बोक्ने, मार्च पासको क्रममा सलामी गर्दा राष्ट्रिय झण्डा नझुकाउने तर विभागीय तथा अन्य झण्डा चलन अनुसार सलामी अवस्थामा लगी अभिवादन गर्ने भनिएको छ।

राष्ट्रिय झण्डा प्रयोगको कठोर र स्पष्ट विधि भएको अवस्थामा बर्को जसरी ओढ्ने, ज्याकेट वा कोटजसरी लगाउने कुरा कल्पना गर्न सकिंदैन। तसर्थ ती उम्मेदवारले आफ्नो गल्तीमा मम भनेर सार्वजनिक रुपमा आत्मालोचना गर्दा इज्जत बढ्छ, घट्दैन। तर्क र बहस गरेर वा गराएर गल्तीलाई ढाकछोप गर्न खोजे राष्ट्रिय झण्डा र नेपालीको अपमानबाहेक केही हुँदैन।

अब थोरै चर्चा गरौं राष्ट्रिय गानको।

गणतन्त्र नेपालको नयाँ राष्ट्रिय गान प्रमाणित भई सार्वजनिक भएको सुरुवाती दिनमा मोबाइलमा रिङटोन राख्ने होड चल्यो। सार्वजनिक सवारी साधनदेखि पैदल यात्रा होस् कि कुनै समारोह, मान्छेका मोबाइलबाट रिङटोनका रुपमा राष्ट्रिय गान बज्दा न उठेर सँगसँगै गाउनु, न चुपचाप बसिरहनु धेरैचोटि धेरैलाई अप्ठ्यारो परेको थियो।

भान्सामा होस् कि शौचालयमा, रातको १२ बजे होस् कि काजकिरियामा बसेको अवस्थामा यसरी मोबाइल रिङटोनमा बजेर अपमानित हुने अवस्था त क्रमश: घट्दै, हराउँदै गयो। तर मान्छे हिंडडुल हुने चोक, सडकमा गरिने फुटपाथे कार्यक्रममा होस् वा अनौपचारिक कार्यक्रममा जथाभावी राष्ट्रिय गान बजाउँदा त्यसको मर्यादा कायम रहन सकेको छैन, अपमान भइरहेको छ।

औपचारिक कार्यक्रम आयोजना गरिएका स्थलमा जहाँ उपस्थित सबै मानिस राष्ट्रिय गान बज्दा उठेर सम्मान प्रकट गर्न सक्छन् भने मात्र बजाइनुपर्छ। त्यो पनि आसन ग्रहणपछि लगत्तै बजाइनुपर्छ। राष्ट्रिय गान बजाउने कार्यक्रम थियो तर छुटेछ, अर्कै गीत बजेछ, स्वागत मन्तव्य वा उद्घाटन गरिएछ, छुटेको हुनाले अब बजाउँछु भनेर राष्ट्रिय गानलाई दोस्रो मर्यादामा राखेर प्रस्तुत गर्न पाइँदैन।

राष्ट्रिय गान प्रयोगको कार्यविधि अनुसार राष्ट्रिय गान बज्दा सबैलाई उठ्न, हलचल नगर्न उद्घोषकले भन्नुपर्नेछ, भनिएको छ। कुनै समारोहको रिहर्सल गर्दा समेत सम्मान प्रकट गर्नुपर्छ भन्नुको अर्थ सबैले उठेर वा हिंडडुल नगरी सम्मान प्रकट गर्न नसकिने अवस्था वा अनौपचारिक कार्यक्रममा राष्ट्रिय गान बजाउनुहुँदैन।

राष्ट्रिय गान बज्दा सर्वसाधारणदेखि राष्ट्रपतिसम्मले सतर्क अवस्थामा उभिएर शिर ठाडो पारी उच्च र उल्लासपूर्ण आवाजमा गाउनुपर्नेछ भनिएको छ। यसअनुसार सतर्क हुनु भनेको दुई खुट्टा जोडेर उभिने, दुवै हात सपक्क दुवै गोडामा टाँसिएको हुनुपर्छ। कतिपयले हात अगाडि वा पछाडि लगेको देखिन्छ, कतिपयले शोकमा झैं शिर झुकाएको पनि देखिन्छ। यो कार्यविधि विपरीत छ।

तसर्थ राष्ट्रिय झण्डा र राष्ट्रिय गानको सही प्रयोगको कुरा आम मानिसले समेत जान्नुपर्दछ भने एउटा कलाकार, सर्जक, जनप्रतिनिधि वा सार्वजनिक व्यक्तित्वले नजान्न पाइँदैन। जान–अन्जान भएको भूल सुधार गरौं। नदोहोर्याऔं। राष्ट्रियताको सम्मान गरौं।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published.