बालेन र राजेशमानले पाएकाे जनमत : जातिगत राजनीति गर्नेलाई थप्पड

समाचार

Sharing is caring!

हरेक निर्वाचनले राजनीतिक सन्देश दिन्छ । जनताले सधैं सडक तताएर मात्र आफ्नो मत व्यक्त गर्दैनन्, जनमत दिने बेलामा समेत विवेकको प्रयोग गर्दै नेतृत्वसमक्ष आफ्नो इच्छा जाहेर गर्छन् ।

अधिकांश समयमा नेतृत्वले ती सन्देश बुझ्न ढिलो गर्छ, तर अन्ततः जनमत अनुसार नै मुलुकको राजनीतिक दिशा निक्र्यौल हुने नै हो । अहिले स्थानीय निर्वाचनले पनि यही बताइरहेको छ ।

विगत पाँच वर्षदेखि भैरहेको राजनीतिक खिचातानी, प्रतिनिधिसभा विघटन, सत्ता परिवर्तन, पार्टीगत द्वन्द्व सबै चरणको फलहरु यतिबेला धमाधम निर्वाचनमा व्यक्त भैरहेका छन् । तर, मतदाताले यी पाँच वर्षको मात्र मूल्यांकन गरेका छैनन्, यस निर्वाचनमा केही बलियो सन्देश समेत दिएका छन्, यसलाई बुझ्न खासै कठिन छैन । त्यो हो, काठमाडौं महानगरमा बालेन साहले मत र वीरगंज उपमहानगरमा राजेशमान सिंहले पाएको मत ।

२०६२/६३ को राजनीतिक परिवर्तनपछि नेपाल नयाँ कोर्षतर्फ प्रवेश ग¥यो । अझ अन्तरिम संविधान जारी भएपछि त मुलुकको व्यवस्था नै फेरियो । तर, व्यवस्था परिवर्तनसँग एकाएक नेपालमा जातिगत राजनीति हावी भयो । मुलुकको विकास नै जातिगत विभेदको कारण रोकिएको भन्दै यो मुद्दालाई जनमत सोहोर्ने सूत्र बनाइयो । यसैको जगमा पहिलो संविधानसभाले संविधान जारी गर्न सकेन । जातिको नाममा प्रदेश बनाउने भन्ने र यस्तो गर्नै नहुने भन्नेमा ध्रुवीकरण हुँदा यो अवस्था आयो । दोस्रोपटक संविधानसभाको निर्वाचन सम्पन्न गरेर ठूलो खिचातानीपछि २०७२ सालमा बल्लबल्ल संविधान समेत जारी भयो । यहाँसम्म आइपुग्दा जातिगत मुद्दामा राजनीति गर्नेहरु सेलाएका थिए । यो विषय जनस्तरबाट नै तिरस्कृत भएपनि बेलाबखत चर्चित राजनीतिज्ञहरुले यसलाई उछाल्न खोजेपनिस्थानीय निर्वाचनमा व्यक्त भएको जनमतले यसलाई ठाडै अस्वीकार गरेको प्रष्टै देखिन्छ ।

नेवाः समुदायको ठूलो जनघनत्व रहेको काठमाडौं महानगरमा तराई मुलका बालेन्द्र साहले अपार जनमत पाएका छन् । उनले निर्वाचन जित्ने वा नजित्ने केही समयमा थाहा हुन्छ । तर, यसको पछाडि राजनीतिक दलहरु प्रतिको वितृष्णा नै प्रमुख कारण रहेको प्रष्टै छ । असन्तुष्टि व्यक्त गर्नका लागि मतदाताले कुनै जाति विशेषको पात्र खोजेनन् । तर्क गर्नेले काठमाडौंलाई विद्रोही शहरको रुपमा पनि व्याख्या गर्न सक्छन् । तर, यो क्रम काठमाडौंमा मात्र सीमित छैन । वीरगंज महानगरले पनि यही नियति देखाएको छ । त्यहाँका मधेशी मुलका मतदाताले नै उपत्यका हुँदै तराई क्षेत्र पुगेका राजेशमान सिंहलाई मत दिएर आफ्नै जातिको मतदाता आवश्यक नभएको सन्देश दिए ।

काठमाडौंमा सिर्जना सिंह र केशव स्थापित मतदाताका लागि राम्रो विकल्प थियो । यस्तै वीरगंजमा विजय सरावगीका पक्षमा भोट हाल्न सकिने अवस्था थियो । तर, मतदाताले उम्मेदवारको मूल्यांकन गर्दै जातिवादलाई विल्कुलै बेवास्ता गरेकाले नै मतको नयाँ ट्रेन्ड आएको विश्लेषण भएको हो । यसमा विशेषगरी युवापुस्ताको मत नै निर्णायक फ्याक्टर बनेका छन् ।

यसले अबका दिनमा मुलुकभित्र जातीय द्वन्द्व फैलाएर राजनीतिको रोटी सेक्छु भन्नेलाई तगडा थप्पड लगाइदिएको देखिन्छ । मुलुक अब विकास र समृद्धि ट्रयाक बाहिर जाने अवस्थामा छैन । यतिबेला जनतालाई आपसमा जुधाएर सत्तामा पुग्न चाहनेलाई युवा पुस्तासहितको जनमतले कठोर जवाफ दिएको छ, यसलाई शिक्षाको रुपमा लिएर राजनीतिक दल अघि नबढे जनताले अन्य माध्यमबाट पनि आफ्नो भनाइ नराख्लान् भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published.