नेपालको गाउँ जहाँ दुई गाग्री पानीले चल्छ दैनिकी, अनि महीनौं कुर्नुपर्छ नुहाउनलाई

समाचार

Sharing is caring!

गणेश भुसाल, सुर्खेत । सुर्खेत जिल्लामा पर्ने चौकुने गाउँपालिकामा विगत लामो समयदेखि पानीको समस्या छ । गाउँपालिकाको रेक्चा भन्ने ठाउँको अवस्था यस्तो छ कि दैनिक दुई गाग्री पानीले गुजारा चलाउनुपर्छ । नुहाउनलाई महिना कुर्नुपर्छ र पनि पाइन्छ पाईदैन पत्तो हुँदैन । पानीको अभावकै कारण गाईबस्तुहरुले तीन दिनमा एकपटक मात्र आफ्नो तिर्खा मेटाउन पाउँछन् त्यो पनि धीत मरुन्जेल कहाँ हो र ? अड्कलेर मात्र !

अत्याधिक टाढासम्म पनि पानीको कुनै मुहान नहुँदा रेक्चा गाउँपालिकाका बासिन्दाहरुले आकाशे पानीको भरमा जीवन निर्वाह गरिरहेका छन् । आकाशे पानी जम्मा गर्न इनार बनाईएको स्थानीयहरु बताउँछन । एक स्थानीयका अनुसार उनले तीन महिनादेखि आफ्नो नुहाउने पालो कुरिरहेका छन्, अझै थाहा छैन उनले कहिले नुहाउन पाउने हुन ।  received_4708713759157052.jpeg

सुख्खा क्षेत्र भनेर चिनिने चौकुने गाउँपालिकाको रेक्चा गाउँ लगायतका गाउँहरुमा सदाबहार पानीको समस्या देखिन्छ । दुई गाग्री पानी मात्र पाइने रेक्चा गाउँमा नुहाउने र कपडा धुने भनेको सपनाको कुरा जस्तै हो । यहाँको स्थिति यति दयनीय छ कि गाईवस्तुले पर्याप्त पानी दिनहुँ पिउने अवसर पनि प्राप्त गर्दैनन् ।

पानीकै समस्याले गर्दा विद्यार्थीहरु समयमा विद्यालय नपुग्ने समस्याहरु देखिन्छ । पानीको समस्या भएको उक्त गाउँमा प्राथमिक तह भन्दा माथिको तह अध्ययनरत गर्न अध्ययन गर्न गाउँबाट दुई घन्टाको यात्रा गर्नुपर्दछ ।

शिक्षामा पनि उचित पहुँच नपुगेको चौकुने गाउँपालिकाको रेक्चा गाउँ लगायतका विभिन्न गाउँहरुमा बालबालिकाहरू दुई घन्टाको यात्रा तय गर्न नसकेर प्राथमिक तहमै विद्यालय छोड्न बाध्य छन् । प्राथमिक तहपछि विद्यालय छोडेका बालबालिकाहरू घरायसी काममा व्यस्त हुने तथा कोही बजार तथा अन्य क्षेत्रमा काम गर्न जाने गर्दछन् ।

स्थानीयका अनुसार चौकुने गाउँपालिकाभित्रका वडा नम्बर २ बाहेक सम्पूर्ण वडाहरुमा पानीको उस्तै समस्या छ । सम्पन्न परिवारहरु सबैजना बजार झरेका छन् । गाउँमा बस्ने सोझा साझा जस्को कहिँ जाने ठाउँ छैन उनीहरू साच्चिकै नर्कको जिन्दगी जीईरहेका छन् भन्न सकिन्छ ।

पानीमा पनि दलिय झगडा र छुवाछूतको समस्या ?

त्यसो त गाउँमा पानी व्यवस्थापनको लागि काम गर्ने भन्ने योजना नबनेका होइनन् । वर्तमान समयमा परेको बजेट १ करोड ७२ लाख रुपैयाँ गाउँपालिका अध्यक्ष एमाले र स्थानीयवासीहरु माओवादी हुँदा विवाद भएपछि त्यो पैसा पनि सबै सदुपयोग नभएको गाउँपलिकाका प्रेस सहायक नन्दराम खनाल बताउँछन । स्थानीय दलहरुको अनावश्यक खिचातानी र जुँगाको लडाईले बनेका योजनाहरु समेत कार्यान्वयन गर्न नसकिएको उनको भनाई छ ।

हामीले यस विषयमा कुरा गर्न खोज्दा गाउँपालिका अध्यक्ष सम्पर्कमा आउन चाहेनन् । तर, उनका प्रेस सहयोगीसंग हामीले झन्डै ४० मिनेट गरेको टेलिफोन बार्तामा उनले अधिकांश समय प्रतिपक्षीको कारण विकास हुन नसकेको बताए ।

त्यसो त यहाँ पानीको समस्यासंगै जातीय छुवाछूत समेत नांगो रुपमा देख्न सकिन्छ । जसको उदाहरण हो कथित उपल्ला जातीलाई छुट्टै र दलित समुदायलाई व्यवस्था गरिएको छुट्टै इनार । यसबारे खनालसंग प्रश्न गर्दा आफुलाई पनि पछिमात्र यसबारे थाहा भएको बताए ।

व्यवस्था फेरियो, नेता फेरिए तर रेक्चाको जीवन फेरिएन

पश्चिमको सम्पन्न शहर भनेर चिनिने सुर्खेतबाट ६०-७० किलोमीटरको दुरीमा रहेको यो गाउँपालिकाले राणाकाल हुँदै गणतन्त्रसम्म देख्यो तर घरको आगनमा पानीको धारा देखेन । तत्कालीन गाउँ विकास समिती र हालको गाउँपालिकामा अध्यक्ष फेरिए । कर्मचारी फेरिए । तर, रेक्चाबासीको जिन्दगी फेरिएन ।

संविधान र नेताको भाषणमा अधिकार र समृद्धिमात्रै छ तर जनताको जीवनमा दु:ख र पिडाका पहाड बाहेक केहि छैन । गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार समेत राज्यको दायित्व र नागरिकको अधिकार भनिएको संविधान भएको देशमा पानीको हाहाकार ! पानी रेक्चावासीको अधिकार हो । संवन्धित पक्षको त्यसतर्फ ध्यान जान अब ढिला नहोस्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *