भाइरल वडाध्यक्षको टिकटक मोहः कार्यकक्षमै डाँडाघरे साइँली

समाचार

Sharing is caring!



काठमाडौं ।

काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा तनाव सिर्जना गरेर चर्चामा आएका १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजाल । बालेन्द्रका समर्थकहरु अहिले पनि उनीविरुद्ध खनिएको खनियै छन् । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष स्वतन्त्र मेयरलाई असफल पार्ने खेलमा लागेको आरोप लागेको छ ।

यिनै भाइरल वडाध्यक्ष अहिले फेरि अर्को प्रसंगले चर्चामा छन् । प्रसंग हो उनको टिकटक मोह । उनी विगतदेखि नै टिकटकमा खुबै सक्रिय छन् । अहिले पनि अनेक हाउभाउसहित दिनहुँ नयाँ-नयाँ टिकटकहरु अपलोड गरिरहन्छन् । यो उनको व्यक्तिगत स्वतन्त्रताको कुरा भयो । तर, वडा कार्यालयस्थित आफ्नो कार्यकक्षमै बनाएको टिकटकबाट भने उनले प्रशस्त आलोचना खेप्नु परेको छ ।

अहिले वडाध्यक्ष रिजालको एउटा टिकटक भाइरल भइरहेको छ । यसमा उनले आफ्नो कार्यकक्षमा बसेर ‘ओइ डाँडाघरे साईंली मैले हत्ते गरेर के गर्ने।’ गीतमा एक्ट गरेका छन् । अगाडि टेबलमा वडाध्यक्षको नेमप्लेट र पछाडि राष्ट्रिय झण्डा छ । टल्किने कालो चश्मा र क्याप लगाएका रिजालले निकै मेहनतपूर्वक अभिनय गरेका छन् । कमेन्टमा समर्थकहरुको वाहवाही पनि पाएका छन् ।

यो टिकटक भिडिओ नयाँ भने होइन । डेट हेर्दा करिब ४ महिना अगाडि अपलोड भएको देखिन्छ । खोज्दै जाँदा रिजालले कार्यकक्षमा बसेर बनाएका अरु पनि टिकटक क्लीपहरु भेटिए ।

रिजाल यसअघि पनि १६ नम्बरका वडाध्यक्ष थिए । अहिलेको स्थानीय चुनावबाट दोहोरिएका हुन् । दोस्रोपटक निर्वाचित भएपछि भने उनले कार्यकक्षमा नयाँ टिकटक बनाउन भ्याएका छैनन् । तर, उनको पुरानो टिकटक झिकेर भाइरल बनाइएको छ । धेरैले मेयर बालेन्द्र शाहलाई ट्याग गर्दै वडाध्यक्ष रिजाललाई ‘ठीक पार्न’ सुझाव दिएका छन् ।-nepalpress



Leave a Reply

Your email address will not be published.