कर्म अनुसार फल पाउँछौँ भनेर जबसम्म बुझ्दैनौँ, तबसम्म सँधै निराशा, दुःख भोग्नुपर्ने हुन्छ

समाचार

Sharing is caring!

एक दिन गौतम बुद्धको शरणमा एउटा युवक अति नै दुःखी हुँदै आएछ। अनि बुद्धले सोध्नुभएछ, “के भयो ?

त्यस युवकले भने रु हजुर, हिजो मेरा पिताको मृत्यु भयो। त्यसैले आज हजुरसँग एउटा अनुरोध गर्न आएको। जब कुनै साधारण पुजारीले अन्तिम संस्कार गर्दछ, तब आत्मा स्वर्गमा पुग्ने मौका पाउँदछ। हजुर त महान् हुनुहुन्छ, हजुर जस्तोले मेरा पिताको संस्कार गरिदिनुभयो भने, उहाँले स्वर्गमा पुग्ने मौका मात्र होइन सायद स्वर्गमै सदा बस्ने मौका पाउनुहुन्छ होला। त्यसैले प्रभु, बिन्ती छ, मेरा पिताको लागि यत्ति गरिदिनुहोस्।

ऊ अति नै दुःखी अवस्थामा थिए, अति भावुक भएका थिए। बुद्धलाई थाहा थियो कि कुनै तर्कसंगत कुरा गरेर ऊमाथी कुनै असर पर्थेन। तर बुद्धसँग पनि कुनै कुरालाई बयान गर्ने आफ्नै कला थियो। त्यसपछि उनले त्यस युवकलाई बजारमा गएर दुईवटा माटाको घैँटा ल्याउन आग्रह गरे।

युवक पनि खुसी हुँदै घैँटा किन्न गए, यो सोँचेर कि अब बुद्धले कुनै किसिमको विशेष संस्कार गर्नेछन्। दुईवटा घैँटा किनेर ल्याएपछि बुद्धले त्यस युवकलाई एउटा घैँटोमा घ्यू र अर्कोमा साना–साना घैँटा राख्न भने। युवकले पनि त्यसै गरे। बुद्धले उनलाई ती घैँटाहरूलाई राम्ररी बन्द गरेर नजिकैको पोखरीमा लगेर राख्न भने। युवकले पनि त्यसै गरे र दुवै घैँटो पोखरीमा डुब्यो। त्यसपछि बुद्धले उनलाई एउटा मोटो लठ्ठी ल्याएर ती घैँटाहरूलाई फुटाउन लगाए। उनले पनि बुद्धले भनेजस्तै गरे।

त्यस युवकले पनि बुद्धले भने अनुसार ती दुई माटाको घैँटालाई फुटाले। फुटाल्ने बित्तीकै एउटा घैँटोको घ्यू पोख्खिएर पानीमा तैरियो भने अर्को घैँटोका ढुंगारू चाहिँ पानीभित्रै रहिरह्यो।

अब बुद्धले शान्त हुँदै भने, मैले यत्ति गरिदिएँ। अब तिम्रा पुजारीहरूलाई बोलाउ र प्रार्थना गर्न लगाउः हे ढुँगा, तिमी तैरिउ हे घ्यू, तिमी पानीमा डुब ।

त्यसपछि युवकले अचम्म मान्दै भने, मैले बुझिन भगवान। यो कसरी सम्भव छ ? यो त सरासर प्रकृतिको नियम विरुद्ध हो। ढुँगा पानीभन्दा गह्रौँ हुन्छ, त्यसैले डुब्छ, तैरिन सक्दैन। घ्यू पानीभन्दा हलुको हुन्छ, त्यसैले तैरिन्छ, त्यसलाई डुबाउन सकिँदैन।

हे युवक, तिमीले प्रकृतिको नियमको बारेमा यत्रो कुरा बुझेका रहेछौ, फेरि पनि सबैको लागि लागू हुने नियमको बारेमा बुझ्न चाहँदैनौँ।

यदि तिम्रा पिताले ती ढुँगाको जस्तो कर्म गरेको भए, तल डुब्नु स्वाभाविक हो, कसले माथि लैजान सक्छ र ? यदि तिम्रा पिताले घ्यूको जस्तो व्यवहार गरेको भए, ऊ सँधै तैरिरहन्छ, कसले डुबाउन सक्छ र ? , बुद्धले भने। कर्म अनुसार हामीले फल पाउँछौँ भनेर हामीले जबसम्म बुझ्दैनौँ, तबसम्म हामीले सँधै निराशा अनि दुःख भोग्नुपर्ने हुन्छ। यो नै प्रकृतिको नियम हो, जुन हरेक प्राणीलाई लागू हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *