फोहोरमैलाको दिगो समस्या समाधान गर्ने उपायहरु

समाचार

Sharing is caring!

घर करेसाको सरसफाइबाट गमला, करेसावारी वा खेतवारीलाई उपयोग हुने मल आफैं बनाउने र प्रयोग गर्ने वा कम्पोष्ट मल बनाउने संस्थालाई जैविक फोहोरमैला उपलब्ध गराएर सहयोेग गर्ने । कामको सिलसिलामा बनिबनाउ खाजा, मिनेरल वाटर, प्लाष्टिक वा प्याकेटमा रहेका खानेकुरा, खाएका बोटल, कन्टेनर वा प्याकेट, थैला वा पोकाका खोल जताततै वा सार्वजनिक वा खुला ठाउँमा नफाल्ने ।

यस्तो कुरालाई कुनै झोलामा पोको पारेर घरमै लगि उपयुक्त फोहोर राख्ने भाँडोमा राख्ने । थोत्रा टुटेफुटेका सामान जत्रतत्र नफाली एकीकृत गरी कवाडीमा पठाउने । पुर्दा वा जलाउँदा मक्किने सड्डे गलेका, धुलिया धमिरा लागेका जैविक फोहोरमैलालाई सकेसम्म घरपरिसरमै गाड्ने वा जलाउने वा काठपातको फोहोर भए त्यसैको उपयोग गर्न सक्नेलाई उपयोग गर्न दिने ।

सार्वजनिक क्षेत्रको सरसफाइमा स्वयम्सेवकको भूमिका निर्वाह गर्ने । फोहोरमैलाको प्रशोधन र विसर्जन सम्बन्धी ज्ञान आफूले राख्ने र अरुलाई पनि सिकाउने । प्रकृति र वातावरणप्रेमी भएर समुदायलाई यसतर्फ उत्प्रेरित गर्ने ।

फोहोरमैलाको प्रयोग क्षेत्रगत वर्गीकरणः पुन प्रयोगमा ल्याउन नसकिने वा अनावश्यक ठानेर फालिने चीजहरु नै फोहोरमैला हुन् । उत्पादन, प्रशोधन तथा उपभोगका लागि गरिने औद्योगिक, व्यापारिक, कृषिजन्य, सामुदायिक तथा घरायसी क्रियाकलापको नतिजा स्वरुप फोहोरमैला उत्पन्न हुन्छ । फोहोरमैलाको उदय र विस्तारबाट निस्कने फोहोरमैलालाई विभिन्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।

१. घरेलु फोहोरमैला :

घरव्यवहारमा उपभोग, उपयोग र प्रयोग गरिने उपभोग्य वस्तु, औजारसाधन र कामकाजबाट उत्पन्न हुने फोहोरमैला घरेलु फोहोरमैला हुन् ।

सागसब्जीका बोक्रा, सागपातका सढेगलेका टुक्रा, च्यातिएका लत्ताकपडा, टुटेफुटेका भाँडावर्तन, किलाकाँटी, सावुनको खोल, दुध वा तेलका खाली भएका थैला, कुनै पनि वस्तुका खोलका रुपमा राखिएका प्लाष्टिकका खोल, सडेगलेको सागसब्जी वा खानेकुराको जुठो, फुटेटुटेका ऐना, सिसा, गीलास, रित्तिएका वट्टा च्यातिएका कागजपत्र, बोतल र बोतलका विर्का, खालि भएका आदि सामान्यत घरेलु फोहोरमैलाका रुपमा चिनिन्छन् ।

मिठाई, चकलेट, चुरोटका खोल, पेयपदार्थ पिउने प्लाष्टिकका पाइप, पूजाआजा गरेर सेलाउनु पर्ने ध्वजापतका, फूलपात, दुनाटपरा, वा यस्तै एक पटक प्रयोग गरेर फालिने चीजविज पनि घरेलु फोहोरमैलाका स्रोत हुन् ।

२. औद्योगिक फोहोरमैला :

आम उपभोक्ताका लागि बजारमा उपलब्ध गराउने विभिन्न थरीका तयारी सामानको उत्पादन, प्रशोधन, भण्डारण, विक्री–वितरण तथा आपूर्तिका सिलसिलामा उत्पन्न हुने फोहोरमैला औद्योगिक फोहोरमैला हुन् ।

औद्योगिक फोहोरमैलामा घरेलु फोहोरमैलामा उल्लेख भएका अधिकांश खालका फोहोरमैला पर्दछन् । औद्योगिक फोहोरमैलामा यस्ता फोहोरका अतिरिक्त रासायनिक फोहोरमैला समेत पर्दछन् ।

३. रासायनिक फोहोरमैला :

यथास्थितिमा प्रयोग गर्न नसकिने र मानवस्वास्थ्य, जीवजन्तु, वनस्पति र वातावरणलाई प्रतिकूल असर पार्ने फोहोरमैलाका रुपमा उत्सर्जन वा विसर्जन गरिएका सबै रासायनिक पदार्थ रासायनिक फोहोरमैलामा पर्दछन् ।

मानिसको सम्पर्कमा आउने यस्ता रासायनिक फोहोरमैलामा ड्रइसेल वा व्याट्री, व्याट्र्ीमा प्रयोग हुने अम्ल (एसिड) घर सडकपेटी रङ्गाउने रङ्ग र त्यसमा प्रयोग हुने रासायनिक पदार्थ, कृषिसँग सम्बन्धित विषादी लगायतका वस्तुबाट यस खालको फोहोरमैला निस्कन्छ ।

४. स्वास्थ्य सेवा सम्बन्धी फोहोरमैला :

अस्पताल, औषधालय, औषधिको उत्पादन, विक्री वितरण, चिकित्सागत प्रयोगशाला, पशुस्वास्थ्य सेवा वा स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान गर्ने संस्थाहरुबाट उत्पन्न तथा निष्कासन हुने फोहोरमैला स्वास्थ्य सम्बन्धी फोहोरमैलामा पर्दछन् ।

यस्ता फोहोरमैलामा कतिपय घरेलु फोहोरमैलासँग मिल्दाजुल्दा फोहोर हुन्छन् भने कतिपय औद्योगिक फोहोरमैला हुन्छन् । कतिपय फोहोरमैला मिश्रित पनि हुन्छन् । रसायन र रेडियो विकिरण पनि मिसिएको फोहोरमैला हुने भएकाले यस्ता फोहोरमैला मानिस तथा पशुपंक्षीका लागि हानी गर्ने खालका नै बढी हुन्छन् ।

५. हानिकारक फोहोरमैला :

फोहोरमैला हुँदैमा सबै कुरा मानिस जीववस्तु, वनस्पति र जलवायुका लागि प्रतिकूल भई हाल्दैनन् । तर यस्ता कतिपय फोहोरमैला हुन्छन् जसका उपस्थिति, अरु वस्तुसँग तिनकको संसर्गले नै मानिस जीवनजन्तु, चराजुरुङ्गी, जल, जमिन, जंगल वायु आदिलाई हानी गर्छ ।
यस्ता फोहोरमैला हानिकारक फोहोर हुन् । विषादि, रसायन, रेडियोविकिरण, बहुअम्लीय गुण भएका फोहोरमैला हानिकारक फोहोरमैलामा पर्दछन् ।

६. मलखाद योग्य सडने फोहोरमैलाः

कुहिने खालका सागसब्जी, फूलफल खाद्यवस्तु केलाउदा वा काट्दा निस्कने बोक्रा वा टुक्रा, झुत्रा आदि फोहोर, सामान्य कसिङ्गर, झारपात, पातपतिङ्गर, सडेगलेको तरकारी, सागसब्जीका रुपमा निस्कने फोहोर मलखाद योग्य फोहोरमैला हुन् । यस्ता फोहोरमैलालाई सामान्यतः जैविक फोहोरमैला भनेर चिनिन्छ ।

गाई वस्तु, बाख्राखसी, कुखुरा, परेवा, कुकुर विराला, जस्ता घर पालुवा जन्तुले खानेकुरा र तीनको दिसापिसाब पनि मलखादयोग्य फोहोरमैला हुन् । मानिसको दिसापिसाब पनि यही कोटीको फोहोरमैला हो ।

पराल, अम्लिसो, बावियो, थाँक्रो, खरेटो जस्ता वडार कुँडारमा प्रयोग हुने वा गुन्द्री, सुकुलजस्ता छिटै सड्ने वा माटामा मिल्ने खालको सामान्यतः एक वर्षमा हुर्कने वढ्ने र सड्ने कच्चा पदार्थबाट बनेको फोहोरमैला पनि यसै खालको फोहोरमैलामा पर्दछ ।

७. रछाने फोहोरमैलाः

घरको भान्साको निकास, नुहाइधुवाइको निकास र बग्ने खालको मैला, घुर्यानको निकास, ढलपानीवाला फोहोरमैला नै रछाने फोहोरमैला हुन् । सरसफाइका क्रममा सावुन, स्याम्पो वा अन्य रासायनिक पदार्थको मिसिएमा यस्तो फोहोरमैला मलखादयोग्य हुँदैनन् । सामान्य भाँडावर्तन वा सागसब्जी सफा गरेको वा पखालेको पानी पात्र रहने फोहोरमैला पनि सडने मलखाद योग्य हुन्छ ।

८. मलखाद अयोग्य सडियल फोहोरमैलाः

फर्निचर वा अन्य घरेलु उपयोगमा ल्याइएका बहुवर्षीय जीवन भएका काठ, बाँस, चोया, बेतबाट उत्पादन गरिएका थोत्रिएर, भत्केर, मक्किएका उपयोग गर्न नसकिने अवस्था भएका वस्तुबाट उत्पन्न भएका फोहोरमैला मलखाद अयोग्य सडेका फोहोरमैला हुन् ।

९. कवाडी फोहोरमैलाः

धातुका भाँडावर्तन फुटेटुटेर वा खिइएर काम नलाग्ने भएका फोहोरमैलालाई कवाडी फोहोरमैल भन्न सकिन्छ । धातुजन्य र पुनरुपयोगको गुन्जाइस रहेका काँटी, तार, फलामका टुक्रा, च्यातिएका जाली पनि यसै कोटीका फोहोरमैलामा पर्दछन् ।

१०. प्लास्टिकजन्य फोहोरमैलाः

प्लास्टिक एक दमै बहुउपयोगी वस्तु हो । आजभोलि प्यास्टिका अनेक प्रकारका सामान प्रयोग हुन्छन् । खानेपानीको पाइप, ट्याङ्कीदेखि लिएर अनेक भाडाँवर्तनका पनि प्लास्टिकका उपलब्ध हुन्छन् र प्रयोग गरिन्छन् । यस अतिरिक्त, निर्माण सामग्री, झोला र बचावटका लागि खोलका रुपमा प्लास्टिकको प्रयोग अत्यधिक हुने गर्दछ ।

प्लास्टिकजन्य पदार्थको फोहोर अनेक तरिकाले निर्माण हुन्छ । निर्माण सामग्रीको रुपमा प्रयोग गरिँदा बनिने टुक्राटाक्री वा प्रयोग भएपछि थोत्रिएर, बिग्रेर, च्यातिएर, भत्किएर पनि प्लास्टिक फोहोरमैला हुने गर्दछ ।

११. सिसाजन्य फोहोरमैलाः

काँच पनि बहुउपयोगी वस्तु भएकाले यसका अनेक थरी सामान हुन्छन् । काँचको प्रकृति आफूभन्दा कडा वस्तुसँगको ठक्करबाट फुट्नेटुट्ने मात्र होइन वातावरणको तापमानमा हुने चर्को उतारचढावले पनि यो टुट्नेफुट्ने हुन्छ । काँचका सामान फुटेपछि अर्को रुपले प्रयोग हुने सम्भावना ज्यादै कम रहन्छ ।

सिसाजस्तै सेरामिक, टायल आदिका सामानको टुटफुटले पनि उस्तै खालको फोहोर उत्पन्न हुन्छ । यसैले तिनलाई सिसाजन्य फोहोरको रुपमा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *