क्यानाडाबाट स्वास्थ्य सामग्री बोकेको विमान काठमाण्डौ प्रस्थान

समाचार

Sharing is caring!

टोरन्टो। क्यानाडा सरकारले नेपालको कोभिड-१९ महामारी विरुद्धको लडाइँमा स्वास्थ्य सामग्री तथा उपकरण पठाएर साथ दिएको छ।

 

क्यानाडाले नेपालका लागि भेन्टिलेटर एवं पीपीइ लगायतका सामग्री हालेर एउटा विशेष विमान बिहिवार काठमाण्डौ पठाएको हो।

 

क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले यस कुराको जानकारी दिएका हुन्।

 

क्यानाडाबाट बिहिवार उडान भरेको विमान आइतवार नेपाल पुग्ने छ।

 

नेपालले कति मात्रा वा मूल्यको सामग्री सहयोग स्वरुप प्राप्त गरेको भन्ने प्रश्नको जिज्ञासामा राजदूत ढुंगानाले ‘सामग्री नेपाल पुगेपछि परराष्ट्र मन्त्रालयले आधिकारिक रुपमा जानकारी दिने’ नेपाल टचसंग बताए।

 

“राजदूतावासले सहयोग जुटाउन पहल गरिरहेको थियो र यो पटकको सहयोग क्यानाडा सरकारले सिधै नेपाल सरकारलाई गरेको सहयोग हो”, उनले भने, “यहाँको नेपाली समुदाय, नेपाली संस्थाहरु र नेपाललाई माया गर्ने क्यानेडेलीको पनि यसमा पहल भने छ।”

 

क्यानडाले यसअघि पनि युनिसेफमार्फत् ६०० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई उपलव्ध गराएको थियो।

 

यस्तै, डेभलपमेन्ट क्यानाडाले रेडक्रसमार्फत् ९ करोड बराबरको सहयोग पनि गरेको छ।

 

नेपालमा कोभिड-१९ को दोश्रो लहर चलेको कठिन अवस्थामा क्यानाडा सरकारले उदारताका साथ सहयोग प्रदान गरेकोमा राजदूतावासले क्यानाडा सरकारलाई धन्यवाद पनि दिएको छ।

 

क्यानाडाका नेपाली र नेपाली संस्थाहरुले पनि कोरोना भाइरस विरुद्धको लडाइँका लागि नेपालमा सरकार तथा जनतालाई सहयोग पठाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *