‘फलानो जातको भएकाले तँलाई कोठा दिन्नँ भन्दा तपाईंलाई कस्तो लाग्छ ?’

समाचार

Sharing is caring!

असार १ गते । सञ्चारकर्मी रूपा सुनार कोठा खोज्दै बबरमहलस्थित सरस्वती प्रधानको घरमा पुगिन् । सुरुमा घरबेटी काेठा भाडामा दिन तयार भए पनि नाम थर सोधेपछि पछि सम्पर्क गर्ने भन्दै आफूलाई विदा गरेकाे रूपाकाे दाबी छ ।

त्यसपछि फेरि रूपा र घरबेटीबीच फोनमा कुरा भयो । जसमा रूपाले जवाफ पाइन्, ‘हाम्रो घरमा हजुरमा हुनुभएकाले दिन मिल्दैन । नरिसाउ ल बहिनी ।’

रूपा प्रतिप्रश्न गर्छिन्, ‘हाम्रो जातको मान्छे नमिल्ने हो ?’

घरबेटीले जवाफ फर्काउँछिन्, ‘अँ अँ ! हामीलाई त केही थिएन । हजुरमाले गर्दा मिलेन ।’

त्यसपछि आफूमाथि जातीय विभेद भएकाे भन्दै ३ असारमा रूपाले प्रहरीमा उजुरी दिइन् । त्यसलगत्तै प्रहरीले जिल्ला अदालतकाे अनुमतिमा सरस्वतीलाई पक्राउ गर्‍यो ।

तीन दिनपछि शिक्षामन्त्री स्वयम् महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेर सरस्वतीलाई छुटाए । जातीय छुवाछुतकाे आराेप लागेकी सरस्वती शिक्षामन्त्रीकाे गाडी चढेर झण्डा फरफराउँदै घर फर्किइन् । यसलाई लिएर शिक्षामन्त्रीले चर्को आलोचना खेपिरहेका छन् । सरकार स्वयम् जातीय विभेदको पक्षपोषक भएको भन्दै टिकाटिप्पणीहरू भइरहेका छन् ।

जस्तो कि, ट्विटरमा लेखक खगेन्द्र संग्रौला भन्छन्, ‘सरस्वती प्रधानलाई लागेको जातीय छुवाछुतको आरोपको  छानबिन हुनै नपाई शिक्षामन्त्रीले हिरासतबाट मुक्त गराएपछि बुझनुपर्‍यो- ओलीतन्त्र जातीय छुवाछुतको रक्षक हो । छुवाछुतको रक्षक हो । छुवाछुतको यो अपराधबारे कांग्रेस, एमाओवादीको विचार के होला ? ओलीतन्त्रीय छुवाछुत पन्थको मौन मतियारी त नहोला ।’

यस्तै अन्य थुप्रै टिप्पणीहरू समाजिक सञ्जालमा देख्न सकिन्छ । रूपाले त्यसलाई नजिकबाट नियालिरहेकी छिन् ।

आफ्नो विरोध गर्दै लेख्नेहरूलाई उनी प्रश्न गर्छिन्, ‘आफूले पटक-पटक म मान्छे हुँ भनेर प्रमाणित गर्दै हिँड्नुपर्ने अवस्थाबाट गुज्रनुपर्दा तपाईंलाई कस्तो होला ?’ यस्ता विभेदले मानवतामा पुग्ने चोटको कुनै हिसाब नहुने उनको तर्क छ ।

त्यसमाथि शिक्षामन्त्री स्वयम् आरोपितलाई छुटाउन दलबलसहित अनुसन्धानकारी निकायकहाँ पुग्नु निन्दनीय भएको रूपा बताउँछिन् । यसले हामीले सोचेभन्दा धेरैमाथि विभेद छ भनेर पुष्टि भएको उनको ठम्याइ छ । ‘भोलिको दिनमा पनि दलित समुदायले उजुरी दिँदा सरकारले यस्तै गर्छ भन्ने हामीलाई थाहा भइसक्यो,’ उनी भन्छिन्, ‘सरकार आफैँ विभेदको पक्षपोषक रहेछ ।’

हुन त छानबिनको क्रममै रहेको मुद्दाका आरोपित छुटाउन शिक्षामन्त्री आफैँ पुग्नु आपत्तिजनक विषय हो । त्यसमाथि मन्त्रीकैअगाडि पिडितविरुद्ध नाराबाजीसमेत भयाे ।

दलितहरू सधैँ दबिएरै बस्नुपर्छ भन्ने ढङ्गबाट शिक्षामन्त्रीको व्यवहार देखिएको रूपा बताउँछिन् । उनका अनुसार, सरस्वती (घरबेटी) ले मुद्दा परेलगत्तै खुट्टा समाएरै माफी माग्न तयार छु भनेर गल्ती महसुस गरिसकेकी थिइन् । तर, कानुनको कठघरमा गइसकेकाले कानुनले नै न्याय देला भनेर आफूले त्यसलाई वास्ता नगरेको उनी बताउँछिन् ।

शिक्षामन्त्रीको आड पाएपछि सरस्वतीले बोली फेरेको रूपाको दाबी छ । ‘आफ्नै समुदायको मान्छे भए पनि तिमीले गल्ती ग‍र्‍यौ, सजाय भोग्नुपर्छ भनेर शिक्षामन्त्रीले भन्न सक्नुपर्थ्यो । तर, उल्टै छुटाउन जानुभयो,’ उनले भनिन्, ‘यसले छुवाछुत गर्नेलाई थप हौसला मिल्यो र बोली फेर्न थाल्नुभयो

यो घटनाले राज्य उत्पीडित समुदायको मुद्धाको पक्षमा रहेनछ भनेर स्पष्ट हुने रूपा बताउँछिन् । त्यसमाथि समाजिक सञ्जालमा खनिएका केही युवाहरू नै विभेदको पक्षपोषक बनिरहेको देख्दा नरमाइलो लाग्ने उनी बताउँछिन् । ‘कतिपय युवाहरू त आफ्नो घरमा बलात्कारी रहेछ भने पनि जोगाउनै लागिपर्ने रहेछन् । धेरै अग्रजको नाङ्गो रुप पनि देखियो,’ उनले भनिन् ।

आफू विगतमा गुठी आन्दोलनमा समेत होमिएको स्मरण गर्दै रूपा थप्छिन्, ‘हिजो म त्यो समुदायको लागि आवाज उठाउँदै हिँडेकी थिएँ, अझै हिँड्छु । तर, उहाँहरूले पनि हाम्रो कुरा बुझ्नुपर्‍यो । एउटा सीमान्तकृत समुदायले अर्कोलाई बुझ्नुपर्‍यो ।’ एकले अर्कालाई बुझ्ने हो भने समाधान टाढा नरहेको उनको भनाइ छ । घरबेटी छुटाउन प्रदर्शनमा उत्रिएका युवाहरू र नेवा: देय् दबूको विज्ञप्तिप्रति उनको संकेत थियो ।

हुँदाहुँदा केहीले त कोठा नपाएको विषयलाई आरक्षित कोटासम्म लगेर जोडेको पनि पाइयो । शासकीय संरचनाको पिँधमा परेकाहरूलाई माथि उकास्नको निम्ति कोटा प्रणाली ल्याइएको बताउँछन्, प्राध्यापक सञ्जीव उप्रेती । समाजको संरचना नै समतल सतहमा नभएकाले तल परेकालाई माथि ल्याउन कोटा प्रणाली आवश्यक रहेको उनको भनाइ छ ।

‘अहिले कोठा र कोटाको विषयलाई लिएर जसरी अभिव्यक्ति आइरहेका छन्, त्यो  सतही तर्क हो,’ उनले शिलापत्रसँग भने, ‘त्यसैले पुस्तौँदेखि संरचनात्मक लाभाशं पाएर माथि आएकाबाट यस्तो तर्क आउनु सुखद हैन ।’ त्यसमाथि शिक्षामन्त्री आफैँ छुवाछुत आरोपित घरबेटी छुटाउन जानु अत्यन्तै निन्दनीय भएको उप्रेतीको भनाइ छ । यसबाट पहुँच भएको मान्छे गएपछि जस्ताेसुकै गलत कुरा पनि माफ हुँदोरहेछ भन्ने सन्देश गएको उनी बताउँछन् ।

‘सबैले मेरो जात, भूगोल, इतिहास भन्दै आफ्ना लागि मात्र हैन, यी सबैबाट माथि उठेर हेरौँ,’ उनले भने, ‘बरु न्याय भनेको के हो ? अन्याय भनेको के हो ? यसलाई बुझेर रूपाजस्तो जो–जो समस्यामा परेका छन् सबैको न्यायका निम्ति बोलौँ ।’

उप्रेती भन्छन्, ‘एकैछिन रूपा सुनारको ठाउँमा आफूलाई राखेर हेर्नुस् । अनि महसुस गर्नुस्, फलानो जातको भएकोले कोठा दिन्नँ भनेर कसैले भन्यो भने तपाईंलाई कस्तो लाग्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *