विश्वकप छनोट नजिक टिम नेपाल, विश्व कीर्तिमानतिर सन्दीप लामिछाने

विश्वकप छनोट नजिक टिम नेपाल, विश्व कीर्तिमानतिर सन्दीप लामिछाने

खेलकुद

Sharing is caring!

सन्दीप लामिछानेको पाँच विकेटप्रेरित नेपाल सोमबार विश्वकप लिग–२ मा पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेटको कीर्तिमानी जितसहित विश्वकप छनोटनजिक पुगेको छ। घरेलु मैदानमा जारी शृंखलामा लगातार तेस्रो सफलतासँगै सीधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई अब एक जित पर्याप्त छ।

लिग–२ को आफ्नो अन्तिम तथा ३६औं खेलमा आगामी बिहीबार संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध जित निकालेमा नेपालले नामिबियालाई पछि पार्दै विश्वकप छनोट यात्रा तय गर्नेछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाली स्पिनरसामु निरीह पिएनजी ९५ रनमै समेटियो। जबाफमा नेपालले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै ७.४ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्यो। एकदिवसीय क्रिकेटमा विकेटको आधारमा यो नेपालका लागि अहिलेसम्मकै फराकिलो जित हो।

नेपालले २५४ बल बाँकी छँदा नै लक्ष्य पूरा गर्यो। धेरै बल बाँकी छँदा जित निकाल्ने विश्व क्रिकेटको सूचीमा नेपाल छैटौं स्थानमा रह्यो। साथै लिग–२ को ३५औं खेलमा नेपालको यो १८औं जित पनि हो। यो जितका बावजुद नेपाल चौथो स्थानमा यथावत् छ। ३६ खेल पूरा गरेको नामिबियाको ३९ अंक र ३५ खेलबाट नेपालको ३८ अंक छ। सात राष्ट्र सम्मिलित लिग–२ मा स्कटल्यान्ड र ओमान शीर्ष दुईमा रहँदै जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाइसकेका छन्। अब तेस्रो स्थानका लागि नामिबिया र नेपालको सम्भावना बाँकी छ। युएईविरुद्ध बिहीबार जितले नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा पुग्नेछ।

१० राष्ट्र सम्मिलित विश्वकप छनोट जिम्बाब्वेमा आगामी जुन १८ देखि सुरु हुनेछ। उक्त छनोटमा सुपर लिगका पुछारका पाँच टोली, लिग–२ को शीर्ष तीन र प्लेअफका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। मोन्टी देसाईको प्रशिक्षणमा पछिल्ला ११ खेलमा १० जित निकाल्दै नेपाल सीधै विश्वकप छनोटनजिक पुगेको हो। यसबीच शनिबार युएईमाथि जित निकाल्दै आगामी चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको नेपालले सोही टोलीविरुद्ध बिहीबार सफलता निकालेमा घरेलु समर्थकलाई अर्को खुसी प्रदान गर्नेछ।

सोमबार पिएनजीविरुद्ध जित निकाल्दा नेपालका स्पिनरले मात्र ९ विकेट लिए। स्पिनर सन्दीपले पाँच विकेट निकाल्दा ललितनारायण राजवंशी र कुशल मल्लको नाममा १-१ विकेट रह्यो। तीव्र गतिका बलर सोमपाल कामीले एक विकेट लिए। सन्दीप म्यान अफ दी म्याच बने। तेस्रो ओभरमा पहिलो विकेट गुमाएको पिएनजी समालिनै सकेन। कप्तान असाद भालाको २० रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। पाहुना टोलीका कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन्। न्यून योगफल पछ्याएको नेपालले आसिफ सेखको अर्धशतकमा सहजै लक्ष्य पूरा गर्यो। आसिफले २१ बलमा ५३ रन जोड्दै अर्धशतक पूरा गरे।

उनको इनिङमा आठ चौका र तीन छक्का रह्यो। उनी नेपालका लागि एकदिवसीयमा छिटो अर्धशतक पूरा गर्ने पहिलो क्रिकेटर भए। आसिफको एकदिवसीयमा यो आठौं अर्धशतक पनि हो। उनीसँगै कप्तान रोहित पौडेल नेपालका लागि सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन्। नेपालको जितमा अर्का ओपनर कुशल भुर्तेल ३३ रन बनाएर आउट हुँदा कुशल मल्ल १२ रनमा नटआउट रहे।

सन्दीप कीर्तिमानतिर

पिएनजीविरुद्ध पाँच विकेट लिँदै सन्दीप लामिछाने एकदिवसीयमा छिटो सय विकेट पूरा गर्ने कीर्तिमाननजिक पुगेका छन्। यो सूचीको शीर्ष स्थानमा रहेका अफगानिस्तानका स्पिनर रासिद खानले ४४ खेलमा सय विकेट पूरा गरेका छन्। सन्दीपले ४० खेलमा ९८ विकेट बनाइसकेका छन्। युएईविरुद्ध थप दुई विकेट लिए सन्दीपले रासिदलाई पछि पार्दै नयाँ कीर्तिमान बनाउनेछन्। सन्दीपले लिग–२ मा ७१ विकेट पूरा गरे। ओमानका बिलाल खान ७६ विकेटसहित लिग–२ को सर्वाधिक विकेटकर्ता हुन्। बिलालले ३५ खेलमा यो सफलता प्राप्त गर्दा सन्दीपले उनीभन्दा पाँच खेल कम खेलेका छन्। एकदिवसीयमा सन्दीपले तीन पटक पाँच विकेट र आठ पटक चार विकेट लिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *