‘डियर कमरेड’की हिरोइन् रश्मिका, यस्तो छ उनको सफलताको यात्रा

‘डियर कमरेड’की हिरोइन् रश्मिका, यस्तो छ उनको सफलताको यात्रा

विश्व

Sharing is caring!

एजेन्सी । नेपालमा दक्षिण भारतीय सिनेमाको आफ्नै किसिमको लोकप्रियता छ । विशेष गरी ती सिनेमाको लोकप्रियतालाई भिडिओ संजाल यूट्यूबमा देख्न सकिन्छ । दक्षिण भारतका विभिन्न क्षेत्रिय भाषाका सिनेमाको हिन्दी डब संस्करणले अनेक काण्ड शीर्षकधारी भिडिओको नेपाल ट्रेन्डिङलाई पन्छाउँदै एक नम्बरमा पर्ने गरेको अवस्थाबाट ती सिनेमाहरुको लोकप्रियता बुझ्न सकिन्छ । साता-दश दिन हुन थालिसकेको छ ‘डियर कमरेड’ नामक सिनेमा नेपाल ट्रेन्डिङमा कब्जा जमाएर बसेको छ ।

सिनेमाका बारेमा नेपालका सिनेमा पारखीहरू त्यसमा पनि युवा दर्शकहरुले सकारात्मक धारणा राखिरहेका छन् । युवा पुस्तामाझ लोकप्रिय रहेका विभिन्न ग्रुपमा सिनेमाको राम्रै चर्चा परिचर्चा छ । सिनेमाको मुख्य भूमिकामा छन् विजय देवराकोंडा र रश्मिका मन्डाना । प्रेमकथामा आधारित सिनेमा विशेष गरी विजयका कारण धेरै नेपाली दर्शकको नजरमा परेको हो । उनी अभिनित ‘अर्जुन रेड्डी’ नामक सिनेमाको हिन्दी संस्करण ‘कबिर सिंह’ले गर्दा उनको चर्चा नेपालका सिनेमा प्रेमी दर्शकमाझ बढेको छ ।

यसका साथै ‘डियर कमरेड’को रिलिज लगत्तै चर्चित बलिउड निर्माता तथा निर्देशक करण जोहरले लगत्तै हिन्दीमा यस सिनेमालाई बनाउने घोषणा गरेपछि यो सिनेमालाई लिएर दर्शकमा रुचि जाग्न सुरू भएको थियो । सोही सिनेमाको हिन्दी डब यूट्यूबमा रिलिज भएपछि नेपाली दर्शकहरु रोजाइमा यो सिनेमा परेको हो र साता दिनदेखि ट्रेन्डिङको पहिलो नम्बरमा रहिरहेको छ । विजयका कारण दर्शकको प्रारंभिक आकर्षणमा परेको सिनेमाले नयाँ आकर्षण दिएको छ । र ती आकर्षण भनेको यसकी अभिनेत्री रश्मिका हुन् ।

सिनेमा हेरेपछि धेरै उनको फ्यान भएका बताइ रहेका छन् । उनको लोकप्रियता पछिल्लो समय दक्षिण भारतमा एकदमै बढेको छ । यहाँ हामी उनै रश्मिकाको चर्चा गर्दैछौं । कन्नड सिनेमाबाट रजतपटमा प्रवेश गरेकी रश्मिका कति लोकप्रिय छिन भन्ने कुरा उनलाई दिइएको ‘कर्नाटका क्रस’को उपनामबाटै सजिलै बुझ्न सकिन्छ । मोडलिङबाट सिनेमामा प्रवेश गरेकी रश्मिकाको सफलता र लोकप्रियताको असाध्यै छिटोछिटो अघि बढेको छ । २४ वर्षिय रश्मिका सन् २०१६ मा कन्नड सिनेमा ‘किरिक पार्टी’बाट डेब्यू भएकी हुन् ।

हाल तेलेगु र कन्नड सिनेमामा व्यस्त रश्मिका ती थोरै अभिनेत्रीमा पर्छिन जसको सिनेमाले थोरै समयमा एक खर्ब भारूको कमाइ गरेका छन् । लगातारका सफल सिनेमाले उनी तेलेगु र कन्नड सिनेमाकी अत्याधिक लोकप्रिय र सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्री बनिसकेकी छन् । ‘किरिक पार्टी’बाट डेब्यू भएकी रश्मिकाका त्यसपछि दुई रिलिज ‘अन्जनी पुत्र’ र ‘चमक’ व्यापारिक रुपमा अत्यन्त सफल भए । यसले उनको डेब्यू सिनेमाबाट पाउन थालेको लोकप्रियतालाई अझ उचाइ प्रदान गर्‍यो ।

त्यसपछि उनी तेलेगु सिनेमाको नजरमा परिन् । ‘चलो’ नामको यस डेब्यू सिनेमाले वक्स अफिसमा कमाल नै गरिदियो । ३ करोडको सानो बजेटमा बनेको तेलेगु सिनेमा २३ करोड भारू कमाउँदै सुपरहिट सावित भयो । सोही वर्ष उनका थप दुई तेलेगु सिनेमा रिलिज भए- गीता गोविन्दम र देवदास । ‘गीता गोविन्दम’मा उनले विजयसँग जोडी बाँधेकी थिइन भने ‘देवदास’मा ‘जर्सी’ अभिनेता नानीसँग जोडी बाँधेकी थिइन । यी दुबै सिनेमा वक्सअफिसमा सफल भए ।

५ करोड भारूमा बनेको ‘गीता गोविन्दम’ले करिब १३० करोड भारू कमायो भने २० करोडमा बनेको ‘देवदास’ले ५० करोड भारू कमाउन सफल रह्‍यो । ‘गीता गोविन्दम’ त सर्वाधिक मुनाफा दिने तेलेगु सिनेमामध्येको एक बन्यो । यी सिनेमाको सफलताले उनलाई ठूला व्यानर र निर्देशकको नजरमा पारेको छ । त्यसैको नतिजा स्वरुप उनी महेश बाबुको पछिल्लो रिलिज ‘सरीलारु नीकेवरु’मा देखिइन् । सय करोड भारूमा बनेको यो सिनेमाको वक्सअफिस कमाइ पनि जबरदस्त नै रह्‍यो ।

सिनेमाले झण्डै २३५ करोड भारू कमाएको बताइन्छ । यो सिनेमाबाट उनले तेलेगु सिनेमामा सफलताको ह्याट्रिक गरिन् । त्यसअघि उनले कन्नडमा पनि ह्याट्रिक गरिसकेकी थिइन् । यसरी विभिन्न भाषाका सिनेमामा ह्याट्रिक कमै कलाकारले गर्ने गरेका छन् । दुबै सिने उद्योगमा पाएको यस सफलताले उनको चर्चालाई झन बढाउँदै लगेको छ । हालसम्म उनका ९ सिनेमा रिलिज भएका छन् जसमा ९ नै सिनेमा वक्सअफिसमा सफल बने । यसको अर्थ उनको सिनेमा करियर शतप्रतिशत सफलताका साथ अघि बढिरहेको छ ।

यसैको कारण हुनुपर्छ उनलाई तमिल सिनेमा उद्योगले पनि नजर लगाइसकेको छ । उनी अब अभिनेता कार्थीको जोडी बनेर ‘सुल्तान’ नामक सिनेमाबाट तमिल दर्शकहरु माझ डेब्यू गर्दैछिन् । कर्नाटकमा जन्मिएकी रश्मिका मनोविज्ञान, पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक हुन् । सिनेमा अगाडि उनको मोडलिङ करियर पनि सफल ने बन्यो । त्यसैको सफलताले उनलाई सिनेमामा ल्याएको हो । मोडलिङबाट रंगिन दुनियाँको करियर सुरु भएयता रश्मिकाको करियर ओरालो नभई उकालो नै लाग्दै आएको छ ।

सन् २०१२ मा मोडलिङ सुरू गरेकी रश्मिकाले सोही वर्ष क्लिन एन्ड क्लियरको फ्रेस फेस अफ इण्डियाको उपाधि जितेकी थिइन । उपाधिसँगै ‘क्लिन एण्ड क्लियर’को ब्रान्ड एम्बेसेडर बनिन् । त्यसपछि उनी एक प्रतियोगितामा टप मोडल बनिन् । सोही प्रतियोगिताका फोटो र नाचबाट प्रभावित भएर ‘किरिक पार्टी’को निर्माण पक्षले उनलाई सिनेमाको अफर गर्‍यो । उनले सो प्रस्ताव स्वीकारिन र १९ वर्षको उमेरमा सिनेमामा डेब्यू हुन पुगिन् । डेब्यू पछाडी उनले हालसम्म पछि फर्केर हिँड्नुपरेको छैन । उनी लोकप्रियताले उकाली चढेको चढ्यै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *