पेरूको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ४२ पुग्यो • OSNepal

पेरूको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ४२ पुग्यो • OSNepal

विश्व

Sharing is caring!

लिमा-पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा गरिएको छ भने राष्ट्रपति डिना बोलुआर्टेको विरोधमा हप्तौंदेखि जारी प्रदर्शन कम हुने कुनै सङ्केत देखिएको छैन ।

राष्ट्रपति नयाँ निर्वाचन र बोलुआर्टेको राजीनामाको माग गर्दै भएका प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको पुष्टि पेरूका मानव अधिकार आयुक्तले गर्नुभएको छ ।गत डिसेम्बर ७ मा पेड्रो क्यास्टिलोलाई महाभियोगबाट पदच्युत गरी पक्राउ गरेपछि बोलुआर्टेले दक्षिण अमेरिकी यो देशको पहिलो महिला राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नुभएको थियो ।

वामपन्थी पूर्व ग्रामीण विद्यालयका शिक्षक तथा युनियनका नेता क्यास्टिलोले आफ्नो १८ महिनाको कार्यकालमा संसदमा चर्को विरोधको सामना गर्नुपरेको थियो भनेभने उहाँविरूद्ध भ्रष्टाचारको आरोपबारे थुप्रै आपराधिक अनुसन्धानहरू शुरू भएका छन् । सरकारले लिमा, कुस्को, कालाओ र पुनो क्षेत्रमा शनिबार मध्यरातदेखि ३० दिनका लागि सङ्कटकालीन अवस्था थप गरेको छ ।

सङ्कटकालको घोषणाले आवागमन र भेला हुने स्वतन्त्रता जस्ता संवैधानिक अधिकारलाई पनि निलम्बन गरेको राजपत्रमा प्रकाशित आदेशमा उल्लेख छ ।पेरुका २५ क्षेत्रमध्ये ११ क्षेत्रमा आइतबार १०० भन्दा बढी सडक अवरुद्ध भएका छन् ।

बोलिभियासँग सीमा जोडिएको जुलियाका शहरमा आइतबार लिमाको केन्द्रीय गिर्जाघरमा प्रदर्शनकारी र एक प्रहरीलाई जिउँदै जलाइएका प्रदर्शनकारीका लागि आयोजित सामूहिक प्रार्थना सभामा दर्जनौं मानिस सहभागी भएका थिए ।शोक मनाइरहेका हरूमध्ये धेरैले शान्तिको प्रतीकको रूपमा सेतो टि–शर्ट लगाएका थिए र मरेकाहरूको फोटो बोकेका थिए ।

लिमाका धर्मगुरू कार्लोस क्यास्टिलोले स्पेनी र क्वेचुआ आदिवासी भाषामा सेवाको नेतृत्व गर्नुभएको छ । यो अशान्ति मुख्यतया दक्षिणी एन्डीजमा केन्द्रित छ, जहाँ क्वेचुआ र आइमारा समुदायको बसोबास छ ।मानव अधिकारसम्बन्धी अन्तर–अमेरिकी आयोगले सङ्कटको अन्त्यका लागि यी समूहहरूलाई पेरुको समाजमा अझ राम्रोसँग एकीकृत गर्न आवश्यक रहेको बताउनुभएको छ ।

क्षेत्रीय प्रशासनका उपमन्त्री जोसे मुरोले आइतबार टिभी पेरुसँग कुरा गर्दै अनुत्तरित सामाजिक मागहरूबारे छलफल गर्न सरकारले देशव्यापी रूपमा ‘वार्ताका लागि ठाउँ’ सिर्जना गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “हाम्रा दाजुभाइलाई भन्नुहोस् कि यो हप्ता हामी मागहरू पूरा गर्न वार्ताको लागि ठाउँहरू स्थापना गर्न चाहन्छौं ।

यसैबीच लिमाका साथै सीमान्तकृत दक्षिणी एन्डियन क्षेत्रमा सोमबारका लागि व्यापक प्रदर्शनको घोषणा गरिएको छ ।शनिबार राति दर्जनौं प्रदर्शनकारी राजधानीको मिराफ्लोरेस जिल्लामा ‘शहरकब्जा’ को माग गर्दै प्रदर्शनमा उत्रिएका थिए ।

प्रसिद्ध माचू पिचु क्षेत्रको प्रवेशद्वार कुस्कोको विमानस्थल दुई दिन अघि बन्द भएपछि शनिबार पुनः खोलिएको थियो ।पेरु वर्षौंदेखि राजनीतिक रूपमा अस्थिर छ र ६० वर्षीय बोलुआर्टे पाँच वर्षमा छैटौं राष्ट्रपति बन्नुभएको हो ।

क्यास्टिलोलाई विद्रोहलगायत अन्य अपराधको अभियोगमा १८ महिनाको हिरासतमा राखिएको छ ।प्रदर्शनमा शाइनिङ पाथ कम्युनिस्ट गुरिल्ला समूहका अवशेषसहित कट्टरपन्थी समूहको हात रहेको अधिकारीहरूले दाबी गरेका छन् ।यसको प्रमाणको रूपमा तिनीहरूले त्यस संगठनका पूर्व सदस्य कामरेड कुसी भनिने रोसियो लियान्ड्रोलाई यसै हप्ता पक्राउ गरेको थियो ।

प्रहरी प्रवक्ता जनरल ओस्कार एरिओलाका अनुसार लियान्ड्रोले अयाकुचो क्षेत्रमा एक दर्जनको ज्यान जाने गरी भएको हिंसामा आर्थिक सहयोग गर्नुभएको थियो । उहाँले लियान्ड्रोलाई ‘माक्र्सवादी, लेनिनवादी, माओवादी’ हत्यारा भएको दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *