कोरोना भाइरसका कारण आय घटेका घरपरिवारलाई ३ लाख येन दिइने

कोरोना भाइरसका कारण आय घटेका घरपरिवारलाई ३ लाख येन दिइने

विश्व

Sharing is caring!

टोकियो । जापानले कोरोना भाइरसको महामारीका कारण आय घट्तै गइरहेको हरेक घरपरिवारलाई ३ लाख येन (२ हजार ८०० अमेरिकी डलर) नगद दिने भएको छ । प्रधानमन्त्री सिञ्जो आबे र उनको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले शुक्रवार यस्तो सहमित गरेको हो ।

‘मैले प्रधानमन्त्रीलाई निश्चित तहसम्म आम्दानी घटेका घरपरिवारलाई ३ लाख येन दिनुपर्छ भनेको छुँ ।’ आबेसँगको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा एलडीपीका नीति प्रमुख फुमियो किशिदाले भने । आफ्नो यस विचारमा प्रधानमन्त्री समेत सहमत भएको उनको भनाइ छ ।

यो नगद कार्यक्रममा जापानका ५ करोड ८० हजार मध्ये १ करोड घरपरिवार योग्य हुन सक्ने अनुमान गरिएको छ । सरकारले मंगलबार आपतकालीन आर्थिक प्याकेज ल्याउने तयारी गरिएको बुझिएको छ । यो प्याकेजमा नगद कार्यक्रम समेत पर्ने यस मामिलाबारे जानकार एक अधिकारीको भनाइ उद्धृत गर्दै जापानी समाचार संस्था क्योदोको अनलाइन संस्करणमा समाचार छापिएको छ ।

सरकारले प्रभावित हरेक घरपरिवारलाई यस अघि भने २ लाख येन नगद दिने विचार गरेको थियो । प्रधानमन्त्री नगद बढाउन सहमति भएको ती अधिकारीले बताएका छन् । नगद कार्यक्रमको लागि आवश्यक रकम यस आर्थिक वर्षको पूरक बजेटबाट जोहो गरिनेछ । सरकारले पूरक बजेट मेको शुरुमा पारित गर्न खोजेको छ । अधिकारीहरुका अनुसार सरकारले नगद हस्तान्तरणको लागि घरपरिवार आयको सीमा तोक्ने छैन र यसमा कर समेत लाग्दैन ।

आय सीमा तोकियो भने हरेक व्यक्तिको आयबारे छानबिन गर्नुपर्ने र यसका लागि लामो समय लाग्ने भएकोले सीमा नतोकिने पत्रकार सम्मेलनमा आर्थिक तथा वित्तीय नीति मन्त्री यासुतोशी निशिमुराले बताए । कसले नगद पाउने भन्ने निर्णय गर्न बरु अभूतपूर्व तरिका ल्याइने उनको भनाइ छ ।

यद्यपि, यो योजना महामारीका कारण आम्दानी घटेर हातमुख जोर्नै गाह्रो भएका घरपरिवारमा सिमित रहनेछ । महामारीबाट उत्पन्न आर्थिक संकटबाट खासै धेरै प्रभाव नपरेका निजामती कर्मचारी, राजनीतिक व्यक्ति र कम्पनीका कार्यकारीहरुलाई भने योजनामा समावेश गरिने छैन ।

योजनामा योग्यता हासिल गर्ने घरपरिवारको आयस्तरमा आउने कमी र आवेदकहरुले नगर सरकारबाट सहायताका लागि कसरी आवेदन दिने भन्ने विवरणहरुमा सरकारले काम गरिरहेको छ । सरकारले सकेसम्म चाँडै घरपरिवारलाई मात्रै नभएर आम्दानी घटेका साना तथा मध्यम आकारका कम्पनीलाई समेत नगद वितरण गर्नेछ ।
कोरोना भाइरसको महामारीले उत्पन्न गरेको समस्या समाधानका लागि ल्याइने प्याकेज विश्वव्यापी वित्तीय संकटपछि सन् २००९ को अप्रिलमा ल्याइएको ५ सय ६८ खर्ब येन बराबरको आपतकालीन प्याकेज भन्दा पनि ठूलो हुने आबेले बताएका छन् । एलडीपीले २०० खर्ब येनको वित्तीय खर्चसमेत ६०० खर्ब येनको प्याकेज ल्याउन भनेको छ ।

सन् २००८ मा अमेरिकी लगानी बैंक लेम्यान ब्रदर्श धराशयी भएपछि आएको विश्वव्यापी वित्तीय संकटका बेलामा सरकारले करीब २० खर्ब येन छुट्टयाएको थियो । त्यति बेला हरेक जापानी नागरिकलाई १२ हजार येन दिइएको थियो भने ६५ वर्ष वा सो भन्दा बढी उमेरका वृद्धवृद्धा र १८ वर्ष वा सो भन्दा कम उमेरका केटाकेटी भएको परिवारलाई अतिरिक्त ८ हजार येन दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *