७६ दिनपछि खुल्यो वुहान

७६ दिनपछि खुल्यो वुहान

विश्व

Sharing is caring!

वुहान : चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाइएको छ। मंगलबार लकडाउन हटाइएसँगै यातायातका सबै साधन पुनः सञ्चालनमा आएका छन् भने बजार खुलेको छ। यातायात र बजार खुले पनि विद्यालय तथा प्रान्तीय कलेजको नयाँ सेमेस्टरका कक्षा भने स्थगित नै रहने चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। वुहानलाई महामारी नियन्त्रणका लागि उच्च प्राथमिकता राखिएको र नागरिक पनि सतर्क रहनुपर्ने वुहानका चिनियाँ राजनीतिक परामर्श सम्मेलन प्रमुख हु शुङ्ग्वाङले बताएका छन्।

लकडाउन खुलेसँगै यहाँका मानिसहरुले कुनै विशेष अनुमति बिना नै बाहिर घुम्न पाउनेछन् । यो सहरमा एक करोड १० लाख मानिसको बसोबास छ ।लामो समयको लकडाउन हटेसँगै कर्मचारीहरुले सडकमा राखिएका अवरोध हटाएका छन् । हाईस्पीड ट्रेनले पनि सेवा सुरु गरेको छ ।चीनमा भाइरसका ८२ हजारभन्दा धेरै संक्रमित भेटिइसकेका छन् । साथै भाइरसबाट अहिलेसम्म चीनमा तीन हजार तीन सयभन्दा धेरै मानिसको मृत्यु पनि भइसकेको छ । तर, पछिल्लो समय चीनमा निरन्तर नयाँ संक्रमितको संख्यामा कमी आइरहेको छ ।

७६ दिनसम्मको लकडाउन अवधिभर वुहानका बासिन्दालाई खाद्यान्न खरिद वा अन्य अत्यावश्यक कामको लागि मात्र बाहिर जाने अनुमति थियो ।वुहान चीनका ठूला उद्योगको केन्द्रको रुपमा रहेको छ । विशेषगरी अटो उद्योगको लागि यो सहर चर्चित छ । धेरै ठूला उद्योगले आफ्नो उत्पादन पुनः शुरु गरिसकेका छन् । साना र मझौला आकारका व्यवसाय भने अझै पनि आफ्नो उत्पादन शुरु गर्न संघर्ष गरिरहेका छन् । यस्ता उद्योगलाई सहयोग गर्न सरकारले २ अर्ब ८० करोड डलरको सहुलियत ऋणको व्यवस्था गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *