बलिउड अभिनेता आसिफ बसरा मृत भेटिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार ५३ वर्षीय बसरा हिमाञ्चल प्रदेशको धर्मशालास्थित एक निजी कम्प्लेक्समा बिहीबार मृत भेटिएका हुन्। स्थानीय प्रहरीले उनले देहत्याग गरेको हुन सक्ने आशंकामा अनुसन्धान सुरू गरिएको बताएको छ।
समाचारमा उल्लेख गरिएअनुसार बसरा धर्मशालामा एउटा घर भाडामा लिएर पाँच वर्षदेखि बसिरहेका थिए जुन घरमा एक विदेशी महिलासँग लिभ इनमा बसिरहेका थिए । प्रहरीले यी महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बसरा यो वर्षको चर्चित सिरिज ‘पाताल लोक’मा देखिएका थिए। ‘वन्स अपन अ टाइम इन मुम्बई’, ‘जब वी मेट’, ‘क्रिस थ्री’, ‘एक भिलेन’लगायत चलचित्रमा पनि उनको भूमिका थियो।